दफा २४
कसूर र सजाय
: (१) कसैले विपद्को घटना घट्न सक्ने गरी लापरबाही गरेमा वा त्यस्तो घटना घटाउन प्रत्यक्ष संलग्न भएमा त्यस्तो व्यक्तिलाई कसूरको मात्रा अनुसार पाँच लाख रूपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
(२) कसैले देहाय बमोजिमको कुनै कार्य गरेमा त्यस्तो व्यक्तिलाई कसूरको मात्रा अनुसार एक लाख रूपैयाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ :-
(क)   कुनै विपद्को घटना घट्न सक्ने अफवाह फैलाई सार्वजनिक रूपमा त्रास सृजना गरेमा,
(ख)   अनुमति लिई वा नलिई विपद्का नाममा चन्दा, राहत वा सहयोग सङ्कलन गरेमा, आफूखुशी वितरण गरेमा वा व्यक्तिगत लाभमा प्रयोग गरेमा,
(ग)    विपद्को समयमा अप्राकृतिक रूपमा बजार मूल्य वृद्धि गरेमा वा कृत्रिम अभाव सिर्जना गरेमा वा गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गरेमा ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिमको कसूर गरेको कारण कसैको ज्यान गएमा, अङ्गभङ्ग भएमा वा चोटपटक लागेमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम सजाय हुनेछ ।
(४) कसैले देहाय बमोजिमको कार्य गरेमा त्यस्तो व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ :-
(क)   यस ऐन अन्तर्गतको कुनै कार्य गर्न नेपाल सरकार, परिषद्, प्राधिकरण वा यस ऐन बमोजिम गठित कुनै समिति वा त्यस्तो कार्यको लागि अख्तियारी प्राप्त व्यक्तिलाई आफ्नो कर्तव्य पालना गर्न बाधा पुर्‍याएमा,
(ख)   यस ऐन कार्यान्वयन गर्ने सम्बन्धमा जारी भएका आदेश वा निर्देशन पालना नगरेमा,
(ग)   राहत सामग्री वितरणमा अवरोध गरेमा वा राहत सामग्रीको दुरुपयोग गरेमा,
(घ)   उपदफा (१), (२) र (३) मा उल्लेख गरिएका बाहेक यो ऐन तथा यस ऐन अन्तर्गतको नियम विपरीतको कुनै कार्य गरेमा ।
(५) यस ऐन विपरीतको कार्य कुनै सङ्गठित संस्थाले गरेमा त्यस्तो कार्यमा संलग्न त्यस्तो संस्थाको व्यक्तिलाई र त्यस्तो व्यक्ति यकिन नभएमा सो संस्थाको प्रमुख भई कार्य गर्ने व्यक्तिलाई यस दफा बमोजिमको सजाय हुनेछ ।